दफा ४८
स्वेच्छिक अवकाश
(१) निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पूरा भएका कर्मचारीले समितिद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित शर्तमा स्वेच्छिक अवकाश लिन सक्नेछ । यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीलाई साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पुगेको कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा समिति समक्ष निवेदन दिन सक्नेछ । यसरी अवकाश लिन चाहने कर्मचारीलाई यस ऐन बमोजिम एक श्रेणी माथिको पदमा दफा ३९ बमोजिम बढुवा पाउने भएमा एक श्रेणी माथिको पदमा बढुवा गरी, साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्ष सेवा अवधि थप गरी स्वेच्छिक अवकाश दिन सकिनेछ ।